Monday, February 25, 2013

कोपिलामै मर्यो माया

कोपिलामै झर्यो माया फक्रिएर फुल्नै लाग्दा
छातिभित्र पहिरो जान्छ नयनबाट भेल बग्दा ।

संसार सबै भुल्छु भन्थ्यौ माया गाढा हुँदाखेरि
विरहका चिट्ठी लेख्थ्यौ दुई दिन टाढा हुँदाखेरि
तर आज दु:खी छैनौ मलाई छाडि अन्तै लाग्दा
पत्थरलाई के थाहा हुन्थ्यो के हुन्छ मुटु जल्दा ।

आँगनसम्मै बोलाएर बन्द गर्यौ मनको दैलो
मलाई ठिक्क पारे पनि तिम्रो मनमा र'छ मैलो
साँचो माया दिदाँ मैले किन तिमीले झुटो ठान्यौ
अजम्वरी माया गर्थे तर तिमीले खोटो मान्यौ ।

Saturday, February 23, 2013

लाज लाग्छ आँफैसँग

लाज लाग्छ आँफैसँग बैँश चढ्यो अंगअंग
मेरै पछि लाग्छन् सबै लट्ठ मेरै रुपसँग ।

जता हेर्छु नयाँ लाग्छ हुन्छ किन यस्तो ?
घाम जून सबै उही तर नौलो भए जस्तो
कोपिला भई फक्रिएछु दाज्छन् फूलसँग
मेरै पछि लाग्छन् सबै लट्ठ मेरै रुपसँग ।

तिमी जस्ती देख्या छैन भन्छन् संसारमा
जहाँ जान्छु मेरै कुरा गाउँ होस् या बजारमा
ऐना हेर्दा लाज लाग्छ अचेल किन आफैँसँग ?
मेरै पछि लाग्छन् सबै लट्ठ मेरै रुपसँग ।


संगीत-रोशन शाही ठकुरी
स्वर-कान्छीमाया सुब्बा 

Thursday, February 14, 2013

मेरो हाल नसोध

उही भुल गरेर फेरि रुवाउँन नखोज
म जे छु ठिकै छु भो अब मेरो हाल नसोध ।

थाहै थिएन वादल जस्तै रुप बदल्ल सक्छौ
आफैँ टाढा हुँदै तिमी किन मलाई दोष दिन्छौ ??
टुक्रिएको मुटुलाई अझै टुक्रयाउँन नखोज
म जे छु ठिकै छु भो अब मेरो हाल नसोध ।

भुल भए मबाट तिमीले मलाई भन्न सक्थ्यौ
दे'कै थिएँ तिमीलाई मैले जेजे तिमी माग्थ्यौ
पीडा दियौ खपेकै छु शत्रु हँसाउँन नखोज
म जे छु ठिकै छु भो अब मेरो हाल नसोध ।

Thursday, December 27, 2012

तिम्रै लागि जन्म्या रैछु

तिम्रै लागि जन्म्या रैछु पहिले तिमी भन्थ्यौ
आखिरीमा धोका दियौ अर्कैसँग गयौ
छाडि जानेलाई
सम्झेको छ भन्दिनू पराई हुनेलाई ।

आँखाभरि आइरहन्छ पुराना ती दिनहरु
कसरी म भुलूँ अब सुनौला ती पलहरु
कसम खाई जीवनभरी तिम्रै हुन्छु भन्थ्यौ
आखिरीमा धोका दियौ अर्कैसँग गयौ
छाडि जानेलाई
सम्झेको छ भन्दिनू पराई हुनेलाई ।

मनभरि उमंग हुन्थ्यो तिमी साथमै हुँदा
आँसुमा नै डुब्यो जीवन तिमीले घात गर्दा
तिमी बिना मेरो जीवन अधुरो छ भन्थ्यौ
आखिरीमा धोका दियौ अर्कैसँग गयौ
छाडि जानेलाई
सम्झेको छ भन्दिनू पराई हुनेलाई ।

स्वर-राज देवान
संगीत-रोशन शाही

Wednesday, December 19, 2012

मलाई छाडी गयौ

केटा-जीवन मेरो उराठ बनाई मलाई छाडी गयौ
केटी-बिन्ति मलाई दोष नदेऊ बाध्यताले टाढा भयौँ ।

केटी-मन थिएन छाडी जाने समयले टाढा पार्यो
      बाध्यतालाई बुझिदेऊ नियतिले गर्नु गर्यो ।
केटा-मन थिएन नाता गाँस्न नियतिलाई दोष दिन्छौ
      बाध्यतालाई दोष दिएर तिमी आफू चोखो हुन्छौ ।

केटी-सक्छौ भने माफ देऊ श्राप नदेऊ यो बैगुनीलाई
       भुल्न सक्छौ भुलिदेऊ माया यो निष्ठूरीलाई ।
केटा-आफ्नै मुटु धड्कनलाई श्राप दिन सकुँला र ?
     यो ज्यान रहेसम्म तिमीलाई भुल्न सकुँला र ?

Tuesday, November 13, 2012

गीत

हाँसेकै छु मनमा पीडा आँखामा आँसु रोकेर
खुशी छौ तिमी भनेर नसोध मुटुमा झिर रोपेर ।

सपनाको महल भत्कियो बालुवाको घर जसरी
आँखामा आँसु,मनमा पीडा उर्लेर आउँछ उसैगरी
छेकिन्न रहेछ पीडाको आँसु हातले छेकेर
खुशी छौ तिमी भनेर नसोध मुटुमा झिर रोपेर ।


शिशा झैँ टुट्यो सम्बन्ध कसलाई दोष दिउँ म
जिउँदो लाश भएर अब कसरी जिउँ म
लेखेकै चाहिने रहेछ क्यारे हुन्न रहेछ देखेर
नसोध अब खुशी छौ भनि मुटुमा झिर रोपेर ।

Friday, December 2, 2011

गीत

धेरै पछि गाउँ फिरें सानु बिर्सेछ गाउँघरले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

गुराँस फुल्ने हरियो जंगल उजाड भएछ
गाई गोठ राख्ने शिखरे दमार पहिरोले लगेछ
कहिले आयौ शहरबाट सोधेनन् कसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

सुखी दिनको सपना साँचेर छोडियो घर देश
सोचेको जस्तो नहुँदो रैछ पराईको देश
घरको ढिडो गुन्द्रुक सम्झे आएँ म त्यसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

स्वर-प्रमोद खरेल
संगीत-टिका भन्डारी

Saturday, June 18, 2011

टेक्छौ हामी एउटै धर्ती

टेक्छौ हामी एउटै धर्ती ओढ्छौ एउटै आकाश
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

भोक लाग्दा खाने हात हिंड्ने खुट्टा एकै
सबै हामी बराबरी हाम्रो पुर्खा एउटै
फूलको रुप अनेक हुन्छ छर्छ उस्तै सुबास
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

छाती भित्र मुटु चल्छ बग्छ रगत रातै
अनी किन भेदभाब गर्नु अन्त्य गरौ आजै
धनी होला कोही गरीब एउटै हाम्रो जात
एकजुट भई अघी बढौ मिलाएर हात ।

Saturday, June 11, 2011

जिन्दगीमा किन आउँछ

जिन्दगीमा किन आउँछ दुःख घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

पुग्नु पर्ने शिखरमा जाँदै थिएँ उँभोतिर
भुमरीमा पर्यो जीवन बग्दै गएँ उँधोतिर
सम्झी ल्याउँदा ब्यथा मनमा आउँछ भेल बनि
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

जति काट्छु दुःखको तार झन्झन् बढ्छ दुःख
मेरो भागमा छैन क्यारे यो जुनीमा सुख
जहाँ जान्छु त्यही आउँछ दशा घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

संगीत-रोशन शाही
स्वर-महेश सेवा